महालेखापरीक्षकले प्रतिष्ठानहरुलाई दिए यस्तो कडा निर्देशन

महालेखापरीक्षक टङ्कमणि शर्माले नियमित रुपमा लेखापरीक्षण गराएर हिसाबलाई पारदर्शी बनाउन समिति, प्रतिष्ठानका प्रमुख तथा लेखाप्रमुखलाई निर्देशन दिएका छन् । ऐन, कानुन र नियमावलीको अधिनमा रही प्रस्ट हिसाब राख्न महालेखापरीक्षक शर्माले निर्देशन दिएका हुन् ।

महालेखा परीक्षकको कार्यालयले समिति एवम प्रतिष्ठानका प्रमुख तथा लेखाप्रमुखसँग गरेको अन्तरक्रियामा महालेखापरीक्षकले तीन महिनाभित्र लेखापरीक्षण सक्न निर्देशन दिए । “आन्तरिक लेखापरीक्षण दिनानुदिन गर्नुहोस्, वार्षिक लेखापरीक्षण गर्न सजिलो हुन्छ, समयमा लेखा परीक्षण नगरेका कारण अनियमितता बढेको छ”– उनले भने ।

कतिपय संस्थाले वर्षौंदेखि लेखापरीक्षण नगरेको भन्दै यसमा लेखापरीक्षकको भन्दा सम्बन्धित कार्यालयको कमजोरी रहेको उनको भनाई थियो ।

महालेखा परीक्षकले निकालेको ५४औँ प्रतिवेदनमा २९ निकायअन्तर्गत रहेका एक हजार १९५ इकाईको लेखापरीक्षण गर्नुपर्नेमा आधा इकाईको पनि लेखा परीक्षण हुन नसकेको महालेखापरीक्षकको कार्यालयले जनाएको छ ।

समिति तथा प्रतिष्ठानमध्ये नगर विकास कोष, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, गरिबी निवारण कोष, प्रेस काउन्सिललगायत कार्यालयले नियमित लेखापरीक्षण गराएको र बेरुजु नरहेको बताइएको छ ।

यस्तै, त्रिभुवन विश्वविद्यालय, नेपाल प्रज्ञा प्रतिष्ठान, वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र लगायतका कार्यालयको धेरै बेरुजु रहेको छ ।

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "महालेखापरीक्षकले प्रतिष्ठानहरुलाई दिए यस्तो कडा निर्देशन"

Leave a comment

Your email address will not be published.


*