नेपालको बिजुली, बस्ती तथा सडकमा एशियाली पुर्वाधार विकास बैंकले कति गर्दैछ लगानी ?

एसियाली पूर्वाधार लगानी बैंकले नेपालका विभिन्न छ वटा परियोजनामा ठूलो रकम लगानी गर्ने भएकोे छ । बैंकको बोर्ड अफ गभर्नर्सको बैठकबाट फर्किएका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपालमा अर्बौ रुपैंया लगानी हुन लागेको बताएका हुन् ।

दक्षिण कोरियाको जेजुमा असार २ देखि ४ गतेसम्म आयोजना भएको एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड अफ गभर्नर्सको बैठकमा सहभागी हुन गएको अर्थमन्त्री कार्की नेतृत्वको प्रतिनिधिमण्डललाई बैंकले यस्तो प्रतिबद्धता जनाएको हो ।

बैठकबाट फर्किएका कार्कीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बोल्दै नेपालमा लगानीका लागि पुर्वाधार विकास बैंक इच्छुक देखिएको बताएका हुन् ।

काठमाडौँ उपत्यकाको विद्युत वितरण प्रणाली सुधार परियोजनामा बैंकले १० अर्ब लगानी गर्ने प्रतिबद्धता जनाएको छ । बैंकले उक्त परियोजनाका लागि केही समयमा नै रकम उपलब्ध गराउने वचन दिएको जानकारी दिए ।

यस्तै तराई मधेसको बस्ती विकास तथा व्यवस्थित सहरीकरण परियोजनामा समेत बैंकले २८ अर्ब लगानी गर्ने प्रतिबद्धता जनाएको अर्थमन्त्री कार्कीले बताए । तराई मधेसका २२ जिल्लामा सो कार्यक्रम लागू भएपनि पूर्वाधार बैंकले पहिलो चरणमा सात जिल्लामा लगानी गर्नेछ ।

अर्थमन्त्री कार्कीकाअनुसार काठमाडौँ सामाखुसीदेखि नुवाकोटको छहरेसम्मको सुरुङ मार्गमा समेत पूर्वाधार बैंकले लगानी गर्ने प्रतिबद्धता जनाएको छ । नेपाल सरकारको प्रस्तावअनुसार सो परियोजनामा बैंकले २६ अर्ब रुपैंया लगानी गर्नेछ ।

यसैगरी बैंकले पोखरा–बेनी–जोमसोङ सडकलाई स्तरोन्नति गर्ने परियोजनामा १६ अर्ब रुपैंया लगानी गर्नेछ । उक्त सडकको स्तरोन्नतिपछि प्रदेश नं ४ को आर्थिक विकास र नेपाल–चीनबीच सम्पर्क सञ्जाल विस्तारमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

बैंकले जलविद्युत परियोजनामा समेत लगानी गर्ने प्रतिबद्धता जनाएको उल्लेख गर्दै अर्थमन्त्री कार्र्कीले ९३ मेगावाट क्षमताको शारदा बबई जलविद्युत आयोजनामा २० अर्ब लगानी गर्ने प्रक्रिया अगाडि बढेको बताए ।

यस्तै नेपाल विद्युत प्राधिकरणले अगाडि बढाउन लागेको ८७ मेगावाट क्षमताको तामाकोसी पाँचौँमा समेत बैंकले १८ अर्ब लगानी गर्नेछ । सो परियोजनामा लगानी गर्ने सम्बन्धमा पनि बैंकले सहमति जनाएको छ ।

काठमाडौँ उपत्यकाको विद्युत वितरण प्रणाली सुधार र तराई मधेसको व्यवस्थित सहरीकरणसम्बन्धी परियोजना तत्काल अगाडि बढ्ने र अन्य परियोजना क्रमशः प्रक्रियामा जाने बताइएको छ ।

अर्थ सचिव शान्तराज सुवेदीले सरोकारवाला मन्त्रालयले परियोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार पारेर उपलब्ध गराए लगत्तै रकम उपलब्ध हुने जानकारी दिए ।

अर्थमन्त्रालय र लगानी बोर्डले परियोजना बैंक बनाउन लागेको जानकारी दिँदै अर्थसचिव सुवेदीले राम्रा र सहज आयोजनामा पूर्वाधार बैंकले लगानी गर्ने वचन दिएको बताए ।

दातृ निकायले उपलब्ध गराउने रकमको उचित सदुपयोगका लागि अनुगमन तथा मूल्याङ्कन प्रणालीमा मन्त्रालयले विशेष जोड दिने तयारी गरेको सो अवसरमा जानकारी दिइएको थियो ।

पूर्वाधार बैंकले अङ्गीकार गरेको ‘छरितो, स्वच्छ र हरित बैंक’को अवधारणा बमोजिम वातावरणमैत्री पूर्वाधार निर्माण, न्यून वा शून्य कार्बन उत्सर्जन गर्ने परियोजना कार्यान्वयन र एसियाली मुलुकमा रहेको गुणस्तरीय पूर्वाधारको अभाव पूर्ति गर्नेबारेमा गभर्नर्स बैठक केन्द्रित थियो । रासस

प्रतिक्रिया दिनुहाेस्

Be the first to comment on "नेपालको बिजुली, बस्ती तथा सडकमा एशियाली पुर्वाधार विकास बैंकले कति गर्दैछ लगानी ?"

Leave a comment

Your email address will not be published.


*